Bisal Chautari Logo

एसीसी यू–१९ एसिया कपको सेमिफाइनलबाट बाहिरीए नेपाल

- १ मंसिर २०७४, शुक्रबार ०८:३० मा प्रकाशित


ACC U-19  Asia Cup semifinals Nepal
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०१ शुक्रवार । एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताको सेमीफाईनलबाट बाहिरिएको छ । प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको सपना अधुरै बनेको हो ।
भारत जस्तो बलियो टोलीमाथि ऐतिहासिक जीत निकालेको नेपालको फाइनलमा पुग्न सकेन । नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले मात्र २०.३ ओभरमा ३ विकेट गुमाउँदै जित पक्का गरेको हो ।
अफगानिस्तानलाई जीत दिलाउन रहामनुल्लाह गुरबाजले सर्वा्धिक ७१ रन बनाए । उनले यस क्रममा ९ चौका र २ छक्का बनाए । जीतका लागि १० रन आवश्यक हुँदा वर्षाका कारण खेल केही बेर अवरुद्ध बनेको थियो । नेपालले त्यसपछि लगातार दुई विकेट लियो । तर, त्यो निकै ढिला भइसकेको थियो । अब्दुल रसुलले दुई वटा छक्का हान्दै आफ्नो टोलीलाई जीत दिलाए ।
नेपालका लािग सन्दीप लामिछाने, कमल सिंह ऐरी र पवन शरार्फले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङमा निकै निरिह प्रदर्शन गरेको थियो । अनिल कुमार साहले ५० रन बनाउन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
साहले ५७ बलमा ७ चौका र १ छक्कासहित आफ्नो अर्धशतक पूरा गरेका थिए । तर, उनी पनि अर्धशतक पूरा गर्ने बित्तिकै मुजिब उर रहमानको बलमा आउट हुन पुगे ।
रहमानले ६ विकेट लिँदै नेपालको ब्याटिङक्रम ध्वस्त बनाए । उनले १० ओभर बलिङ गर्दै २ मेडेनसहित २८ रन खर्चेर ६ विकेट लिए । काइस अहमद कमावालले २ विकेट लिए ।
नेपालले निकै खराब शुरुवात गरेको थियो । ९ रनको अवस्थामा नै नेपालले आफ्ना दुई ओपनर गुमाएको थियो । एक तर्फ साहले नेपालको इनिङलाई जोगाई राखे पनि अर्कोतर्फ निरन्तर रुपमा विकेट गुमाइराख्यो ।
अन्ततः मात्र २८ ओभरमा नेपाल १०३ रन बनाउँदै अल आउट हुन पुग्यो ।
नेपालले समूह चरणको खेलहरुमा बंगलादेशसँग पराजित भएको थियो भने भारत र आयोजक मलेसियालाई हराएको थियो । अब आइतबार किनरारा ओभलमा हुने फाइनल खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया