Bisal Chautari Logo

खोटाङको दिप्रुङ र दिक्तेल जोड्ने साप्सु खोलामा मोटरेबल पुल शिलान्यास

- ११ असार २०७६, बुधबार १६:२० मा प्रकाशित


khotang – Diprung chuichumma gaupalika news
विशाल चौतारी समाचार
खोटाङ, २०७६ असाढ ११ बुधबार ।
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ । स्थानीयबासी, निर्माण व्यवसायी तथा प्राविधिक सहयोग गरिरहेको स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) का प्रतिनिधि लगायतको उपस्थितिमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले साप्सु खोलाको पुल शिलान्यास गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको बिचमा रहेको साप्सु खोलाको बाटोफेदीमा निर्माण गर्न लागिएको प्रिस्ट्रेस बिम पुल बुधबार शिलान्यास गरिएको हो ।
पुल शिलान्यास गरेपछि बोल्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ‘स्थानीय तहको हरेक योजनालाई पारदर्शी बनाउन र सुशासन कायम गर्नका लागि निर्माणको सुरुमै सार्वजनिक सुनुवाई गरिएको छ,’ गाउँपालिका अध्यक्ष राईले बताए । पुल शिलान्यासकै क्रममा सार्वजनिक सुनुवाई पनि गरिएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खादेखि खानीडाँडा जोड्ने सडक खण्डमा पर्ने पुल २०७८ साल जेठ १७ गते सम्पन्न गर्ने गरी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको हो । ४० मिटर लम्बाई भएको पुल निर्माणका लागि २०७६ साल जेठ १७ गते सम्झौता भएको थियो । दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने पुल मुल्य अभिबृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५४५ मा ठेक्का लिएको निर्माण कम्पनी सूर्य एण्ड सन्स प्रालिका साईड ईन्चार्ज हरिप्रसाद बरालले बताए ।
पुल शिलान्यास कार्यक्रममा साईड ईन्चाज बरालले निर्धारित समयमा पुल तयार पारेर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो ।

विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) को प्राविधिक सहयोगमा साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको हो ।
सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २०७४ साल कार्तिक २९ गते सडक विभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो । साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्नेछ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षसंग गरिएको कुराकानी

प्रतिक्रिया