Bisal Chautari Logo

इटहरीमा ‘जाइरा’लाई लाखेको स्वागत

- ३ भाद्र २०७६, मंगलवार ०९:५१ मा प्रकाशित


Nepali Movie Zira
विशाल चौतारी समाचार
काठमाडौ २०७६ भाद्र ३ मंगलवार।
यहि शुक्रबार रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार सकेर काठमाण्डौ फर्केको छ । नेपाली चलचित्रको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरा, अर्को प्रमूख स्टेशन चितवन तथा पूर्वी नेपालको धरान र इटहरीमा प्रचार(प्रसारका विभिन्न कार्यक्रम आयोजना गरेको थियो।

इटहरीमा भने परम्परागत शैलीको कार्यक्रम भन्दा भिन्न शैलीको कार्यक्रम आयोजना भएको थियो । इटहरीका स्थानिय युवाहरुको सक्रियतामा लाखे जुलुस निकालेर चलचित्र ‘जाइरा’ टीमलाई स्वागत तथा बजार परिक्रमा गराईएको थियो । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलीजको संघारमा प्रस्तुत गरिएको थियो । जाइराको प्रचारमा सहयोग तथा रिलीजको खुशियालीमा लाखे जुलुस निकालिएको स्थानिय युवाहरुले बताए । प्रचार यात्रामा चलचित्रकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगर लगायत रहेका थिए । मोफसल प्रचारको क्रममा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले चलचित्र केहि अनौठो लाग्न सक्ने बताउँदै चलचित्र राम्रो बनेको खण्डमा सफल हुनेमा बिश्वस्त देखिइन् ।

पहिलो पटक यस प्रकारको भूमिकामा अभिनय गरेकी नम्रताले स्पोर्टस ड्रामा जाइरा एक्शन मन पर्ने दर्शक मात्र नभएर सबै दर्शकले मन पराउने बिश्वास व्यक्त गरिन् । मोफसलमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते चलचित्र हेरेपछि उक्त राज खुल्ने बताए । अग्रहरीले जाइरामा आफु नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केहि ग्ल्यामर देखिएको प्रष्ट्याए । उनले चलचित्रमा पनि स्वभावत ग्ल्यामर देखिने खुलाए ।
त्यस्तै, पोखरा कै एक रक बारमा टम्बल वीडु ब्याण्डले जाइराको ओरिजिनल साउण्ड ट्रयाकको प्रस्तुती दिएको थियो । चलचित्रको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोहि प्रस्तुतीको लागि पोखरा पुगेको थियो । यात्राको क्रममा पोखरा, चितवन र धरानमा पत्रकार सम्मेलन आयोजना भएका थिए । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको जाइरामा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रनिता श्रेष्ठ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् ।

प्रतिक्रिया