Bisal Chautari Logo

अझै नियन्त्रणमा आएन डढेलो, १५ जनाको मृत्यु, १८० हराए

- २५ आश्विन २०७४, बुधबार ०७:२५ मा प्रकाशित


Do not get into control yet fire.
विशाल चौतारी समाचार
लस एन्जेलस, २०७४ असोज २५ बुधवार । अमेरिकाको क्यालिफोर्निया राज्यमा जङ्गलमा लागेको डढेलो निकै तीव्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठुलो जनधनको क्षति पुगेको छ ।
गत आइतबार रातीदेखि लागेको भीषण डढेलोमा परी १५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । साथै यसबाट अरू पनि कैयौँ हराइरहेका छन् ।
क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो अंगुर बगानमा पसेको यसैका कारण झन् बढी फैलिएको बताइएको थियो । क्यालिफोर्नियाको करिब ५० हजार हेक्टर क्षेत्रफलमा डढेलो सल्किएको छ ।
उक्त राज्यका विभिन्न २४ स्थानबाट डढेलो सुरु भएको थियो । सो डढेलो अहिले सबैजसो जङ्गलमा फैलिएको छ ।
यसमा परी १५ जनाको ज्यान गएको छ भने अरू करिब २५ हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।
हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरू कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ ।
बुधवार प्राप्त समाचारअनुसार करिब पाँच हजार जनालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ ।
अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्राय अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । प्राय सबै संरचनाहरू ध्वस्त बनाएको पाइएको छ ।
सो आगलागीमा परी कम्तीमा पनि दुई हजार घर जलेका छन् । त्यसमा व्यापारिक भवन पनि रहेका छन् । अन्य भौतिक संरचनाहरू पनि जलेर खरानी भएको बताइएको छ ।
प्राप्त समाचारअनुसार क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उनीहरूले क्यालिफोर्निया राज्यमा यो पहिलो पटक यति खतरनाक डढेलो लागेको बताएका छन् ।
आइतबार रातीबाट अकस्मात उक्त क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन ।
आगोको गति निकै तीव्र थियो । तीव्र हावाका कारण आगोको लप्काहरु पनि चाँडै नै विस्तारित भएको बताइएको छ । तातो हावा र सुख्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ ।
अहिले पनि डढेलो पूर्ण रूपमा नियन्त्रणमा आउन सकिरहेको छैन । अग्निनियन्त्रक, स्थानीय नागरिक तथा सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर डढेलो भने नियन्त्रणमा लिन सकिएको छैन ।
यसैबिच प्राप्त एक पछिल्लो समाचार अनुसार उक्त आगलागीमा परी हराएका भनिएकामध्ये ५७ जना स्थानीय नागरिक भेटिएका छन् । सो जानकारी क्यालिफोर्नियाका अधिकारीहरूले दिएका छन् ।
पछिल्लो समाचारमा उक्त अगलागीमा परी अझै पनि १८० जना मानिस हराएका छन् । उनीहरूको खोजी कार्य पनि जारी रहेको उद्वारकर्मीहरुले जानकारी दिएका छन् । (रासस÷सिन्ह्वा)

 

प्रतिक्रिया