सुन व्यापारीको गोली हानी हत्या

Gold trader shot dead
विशाल चौतारी समाचार
सर्लाही २०७४ असोज २५ बुधबार । सुन व्यापारीको गोली हानी हत्या भएको छ । मङ्गलवार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो।
                                                                                                                                 फाइल फोटो

मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीन—जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए।
सर्लाही प्रहरीका अनुसार प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरी मृतकका पिता नागेन्दर साहको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन्।
गम्भीर घाइते साहलाई सर्लाही जिल्ला अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको छ। घटनाको विषयमा अनुसन्धानका लागि फरार समूहको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए। रासस