Bisal Chautari Logo

युवाका सवालमाथि सहभागीमूलक बहस

- १० बैशाख २०७५, सोमबार ०९:२२ मा प्रकाशित


Interactive discussion on the issue of youth

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १०, सोमबार । नेपाली युवामा विदेश पलायनको मोह बढेको र यसलाई रोक्नेतर्फ सरकारी प्रयास हुन नसक्दा मुलुक विस्तारै युवाविहीन बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आज यहाँ आयोजना गरेको युवाका वर्तमान सवालहरूमाथि छलफल कार्यक्रममा सहभागी वक्ताहरुले वेरोजगारी समस्याको समाधान वैदेशिक रोजगार हुन नसक्ने भन्दै वैदेशिक रोजगारीमा जाने युवाले शारिरीक तथा मानसिकलगायत विभिन्न समस्या भोग्नु परेको धारणा राख्नुभयो ।

युवालाई स्वावलम्बी बनाउन अहिलेको पाठ्यक्रम नै बदलेर व्यावहारिक र सीपमुखी शिक्षण हुनु जरुरी छ भन्ने कुरामा पनि सहभागीहरूको जोढ रहेको थियो ।

सो अवसरमा विकासविद् डा रोजी जोशीले कार्यपत्र प्रस्तुत गर्दै नेपालको शिक्षा व्यवहारोपयोगी हुन नसकेको, युवाको सामाजिक सुरक्षाका लागि प्रयास नभएको, आफैं लगानी गरी स्वउद्यममा संलग्न हुन चाहने युवालाई सहयोग गर्ने पद्धति नबसेको, युवाका लागि दिइने ऋण सीमित स्वार्थी व्यक्तिका हातमा पुगी दुरुपयोग भएकोजस्ता समस्याले युवा जनशक्ति पलायन भएको उल्लेख गर्नुभयो ।

उहाँले युवाका सवालमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसमेतको यथेष्ट चासो नपुगेको, महिलालाई आरक्षण र सशक्तीकरण गर्ने नाममा झन् पराधीन बनाउन खोजिएको बताउनुभयो ।

नेपानका अध्यक्ष चेतनाथ कणेलले सरकारी, गैरसरकारी, निजी, सहकारी र प्राज्ञिक क्षेत्रले सामूहिक तवरले काम नगरेसम्म युवाका शिक्षा, स्वास्थ्य, रोजगारी, सदाचार, समग्र क्षमता अभिवृद्धि एवम् आत्मविश्वास अभिवृद्धि हुन नसक्ने कुरामा जोड दिनुभयो ।

नेपानका कार्यकारी निर्देशक फटिकबहादुर थापाले नेपानले स्थापनाकालदेखि नै सहभागीमूलक विकास पद्धतिसँग सम्बन्धित विविध सवाल र समस्यामा अनुसन्धान, तालीम, प्रकाशन, कार्यमूलक अनुसन्धानमुखी विकास परियोजना कार्यान्वयन तथा विकास–सञ्जालीकरणजस्ता विषयमा काम गर्दै आएको जानकारी दिनुभयो ।

नेपानले विकासमूलक बहुआयामिक सवालहरूमाथि मासिकरूपमा अनुभव आदानप्रदान तथा छलफल–बहस चलाउँदै आएको छ । सन् १९९५ मा भएको यस संस्थामा करिब ३०० जना विकासकर्मी सदस्य रहेका छन् ।

प्रतिक्रिया