Bisal Chautari Logo

सबैले घरमा जमरा राख्दा, कृष्णले भने शरीरमा नै जमरा राखे

- ५ आश्विन २०७४, बिहीबार ११:२० मा प्रकाशित


Krishna kept firm in the body
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ५ बिहिबार । घटस्थापनाको दिन आज सबैले आ–आफ्नो घरमा जमरा राखेका छन् । तर ३६ बर्षीय कृष्ण शाहीले भने शरीरमा नै जमरा राखेका छन् । उनले काठमाडौंको शोभाभगवती मन्दिर परिसरमा दशैंको पहिलोदिन आफ्नो शरीरमा जमरा प्रतिस्थापन गरेका हुन् ।
उनको यो चौथोपटक हो । यसअघि तीनपटकसम्म जमरा आफ्नो शरीरमा राखीसकेका छन् । उनले सातपटक नौदिनसम्म पानीसमेत नखाई शरीरमा जमरा उमार्ने संकल्प लिएका छन् । मन्दिर परिसरमा पाल टाँगेर सुत्ने एउटा विस्तारा राखिएको छ, जहाँ उनले शरीरमाथि जमरा राखेर ब्रत शुरु गरेका छन् ।
उनी एक तान्त्रिक वैदिक गुरु पनि हुन् । उनी यसलाई पूर्खाको देन बताउँछन् । शरीरमा जमरा उमार्ने कार्य उनका बुबा चौथी शाहीले पनि सातपटकसम्म पूरा गरिसकेका छन् । यसैलाई कृष्णले निरन्तरता दिएका हुन् ।
नौदिनसम्म निर्जल ब्रत
उनले शोभा भगवती मन्दिरमा अन्नपानी केही पनि नखाई शरीरमा जमरा उमारेको देख्ने सबैजना आश्चर्यमा पर्छन् । मन्दिरमा उनलाई हेर्न आउनेको घुइँचो लागेका छन् ।
नौंदिनसम्म पानी समेत नखाई बस्नु सामान्य व्यक्तिको कल्पनाभन्दा बाहिर छ । अर्को आश्चर्यलाग्दो कुरा नौं दिनसम्म उनको शरीरको मलमुत्र प्रकिया समेत बन्द रहने गर्छ । नौ दिनसम्म अन्नपानी केही नखाई कसरी बस्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले यस कार्य दैवी शक्ति र ब्रत बस्ने संकल्पका कारण सम्भव हुने बताए ।
उनले भने ‘ब्रत बस्नुअघि नौदिनसम्म कसरी बसुँला भन्ने मनमा आउँछ तर जब म आशनमा बसेर संकल्पसहित ब्रत पूरा गर्ने अठोट गर्छु त्यतिबेला मेरो शरीरमा शक्ति उर्जाशील हुन्छ ।’ उनको ब्रतस्थलमा श्रीमद्भागवतको कथा वाचन समेत हुनेछ । र, नौंदिनसम्म भजनकीर्तन हुने कार्यक्रम छ ।
भक्तजनबाट संकलित रकम समाजसेवामा
उनको कठीन ब्रत हेर्न आउने भक्तजनले स्वविवेकले दिने भेटी रकम उनले असहायलाई प्रदान गर्ने बताएका छन् । भक्तजनले दिएको चन्दा रकम मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहयोगको लागि राखिने उनले बताए ।
उनले भने ‘यस धार्मिक काममा समाजसेवा पनि सँगसँगै जोडिएको छ । धार्मिक अनुष्ठानबाट संकलन भएको चन्दा रकम असाह्य व्यक्तिलाई दिनेछौं ।’
मानसिक सन्तुलन गुमाएका १८ व्यक्तिहरु अहिले नेपाल स्नेही काखमा संरक्षणरमा रहेका छन् ।नौदिनपछि उनको ब्रत पूरा हुने तथा दशमीका दिन दर्शनार्थीहरुलाई जमरा र टिका लगाइदिने उनले बताए ।

 

प्रतिक्रिया