Bisal Chautari Logo

मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने

- १८ बैशाख २०७५, मंगलवार ०८:११ मा प्रकाशित


 Machindra Nath Jatra on Thursday was derived from here

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १८,मंगलबार। रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ ।

यस पटक हेरिने साइतले भोटोजात्रा कहिले हुन्छ भन्ने टुङ्गो लगाउनेछ । अहिले देवता थटिटोलमा छ । साइत जुन दिनको निस्कन्छ त्यही दिनमा जाउलाखेल लगिने ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । जाउलाखेल पुगेको चार दिनका दिन भोटोजात्रा देखाइने गरिन्छ ।

यस वर्ष आगामी जेठ २ गतेदेखि एक महिनासम्म मलमास छ । त्यसभन्दा अघि वा पछि रथलाई जाउलाखेल पु¥याइन्छ । मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन । जोशी भन्नुहुन्छ, “त्यसैले भोटोजात्राको पनि कि त मलमास पहिलेको साइत निस्कन्छ कि त त्यसपछि ।”

रातो मछिन्द्रनाथको जात्राका लागि दुई चरणमा साइत हेरिन्छ । पहिलो चरणमा बुङ्गमतीबाट पाटन ल्याउनका लागि तथा दोस्रो चरणमा रथ थटिटोलमा पुगेपछि जाउलाखेल लैजानका लागि हेरिन्छ । थटिटोलबाट जाउलाखेलसम्मको रथयात्रालाई मछिन्द्रनाथको बाह्य लोकको भ्रमणसमेत भनिन्छ । त्रिलोक भ्रमण सम्पन्न भएपछि बाह्य लोकको भ्रमण हुने गर्छ । जाउलाखेलसम्मको रथ तान्नका लागि नगरका बाहिरी भागका मानिस सहभागी हुन्छन् । उहाँ भन्नुहुन्छ, “विशेष गरेर कीर्तिपुरवासी रथ तान्न आउने गरेका छन् ।”

काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मछिन्द्रनाथको जात्रालाई ललितपुरवासीले विशेष महत्वका साथ मनाउने गरेकाछन् । मछिन्द्रनाथलाई सहकाल र वर्षाका देवता मानिन्छ । रथ यात्रा हुन थालेपछि काठमाडौँ उपत्यकामा वर्षा हुने पाइएकाले त्यो प्रिमनसुन वा देवताको शक्ति हो भन्ने तर्कहरु आइरहेका छन् ।

प्रतिक्रिया