Bisal Chautari Logo

‘पुरानो बुलेट’को फस्टलुक पोस्टर सार्वजनिक

- २२ माघ २०७५, मंगलवार १२:०८ मा प्रकाशित


purano bullet nepali movie poster
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ २२, मंगलबार ।
चैत्र १ बाट प्रदर्शनमा आउने फिल्म ‘पुरानो बुलेट’ले फस्टलुक पोस्टर सार्वजनिक गर्दै अफिसियल प्रचार–प्रसार सुरु गरेको छ । लामो समयको रंग पत्रकारितापछि ‘एक्सन कट’मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएको फिल्मको मंगलबार तीन पोस्टर रिलिज गरिएको छ ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा बुलेटमा अनुप फिचर छन् ।
अर्कोतर्फ बर्षालाई गाउँले भेषमा प्रस्तुत गरिँदा माला केहि बोल्ड देखिन्छिन् । सार्वजनिक पोस्टरबाट फिल्म भित्र अनुप र बर्षा गाउँले तथा माला शहरिया युवतीको भुमिकामा रहेको भान हुन्छ । पछिल्लो क्रममा रिलिज हरेकजसो फिल्ममा एकपछि अर्को गर्दै फरक अबतारमा प्रस्तुत हुँदै आएका अनुपले ’पुरानो बुलेट’को प्रस्तुती हालसम्म गरेका सबैजसो फिल्मको भन्दा भिन्न रहेको बताउँछन् । स्टाइलिस अभिनेताको छाप छोडेका अनुपले सुरुवाती फेजको ’खलपात्र’को लोकप्रियतालाई बिस्तारै हिरोइज्ममा (भिलेन टर्न हिरो) टर्न गर्दै अघि बढेका छन् ।

’पुरानो बुलेट’को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । वर्ल्ड प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो लगत्तै ट्रेलर रिलिज गर्ने तयारी गरिरहेको छ । फिल्ममा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।
फिल्म पुरानो बुलेट’मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ भने छायाँकन हरि घले लामाको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । फेमिली ड्रामा बोल्ने फिल्मले पुर्बी नेपालको टिपिकल कथा पेश गर्छ ।

प्रतिक्रिया