Bisal Chautari Logo

पुत्रशोकमा रहेका प्रचण्डले भने – ‘देशका हरेक युवा युवती हाम्रो छोरा प्रकाश हुन्’

- ७ मंसिर २०७४, बिहीबार १०:२३ मा प्रकाशित


pushpa kamal dahal’s son prakash dahal
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ मंसिर ७, बिहिबार । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका हरेक युवायुवतीमा स्वर्गीय छोरा प्रकाशलाई देखेको बताएका छन् ।
स्वर्गीय प्रकाशको सम्झनामा बिहीबार प्रचण्ड निवासमा श्रद्धाञ्जली सभा राखिएको थियो, जहा शीर्ष नेताहरुका साथै कूटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित थिए ।
कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य बाचन गरिएको थियो ।

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनहरु,

                हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल(प्रकाश) को श्रद्धाञञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितीका लागि म र मेरो परिवार आभारी छौं। हाम्रो पारिवारिक शोकमा तपाईँहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ। पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ। तपाईँहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासंग लड्न धेरै शक्ति मिलेको छ।
यही मंसिर ३ गते आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो। उनी जम्मा ३६ वर्षका थिए। ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो। कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि विदा भए।
म पूर्णकालिन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो। म भुमिगत राजनीतिमा थिएँ, कहिलेकाँही मात्र घर आउँथे, त्यो पनि राती अबेला आउँथे र बिहान झिसमिसेमै हिँडिहाल्थें। उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए। सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दाफेर्दै उनको पढाइ लथालिङ्ग भयो। अरु थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालिन कार्यकर्ता भए। अहिले सम्झिँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्। बालकबाट सिधै युवा भए। सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ।
केहिले कमरेड प्रकाशलाई केवल मेरो छोरामात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सिमित गर्न खोजे। तर, उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए। म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होइन, त्यो भुमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए। उनी अत्यन्त मिडीयामैत्री थिए। प्रविधिमा उनको रुचीमात्र थिएन, दख्खल पनि थियो।
व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देखिरहनुभएकै हो। सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना सफल हुने थिएन।
पुत्रवियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि। शोकको यो घडीमा हामीले देशमात्र होइन, विश्वभरिबाटै हार्दिक समवेदना र सान्त्वना पायौं। नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋणि छौं।
हाम्रा छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्वक समवेदना पायौं। युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यबद्धता र सहानुभुती देखाए। विभिन्न पेशागत, व्यवसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई शान्त्वना दिए। मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र अर्याघाटसम्म स्वतःस्फुर्त रुपमा उर्लिएको जनसागरलाई मैले क. प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु।
दश वर्ष लामो नेपाली क्रान्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धेरै किर्तिमान देख्यौं। ‘जीवनको लम्बाई होइन, उचाई धेरै हुनुपर्छ’ भन्ने हाम्रो मान्यता थियो र छ। कमरेड प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल(क्रान्तिकारी) संगै युवा संगठनहरुले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईँका छोराछोरी हौं’ भनेर हाम्रो आत्मबल बढाए।
प्रकाश अब छैनन्। तर, देशका हरेक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं। यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निश्कर्षमा हामी अझ दृढ भएका छौं। हो, हामी शोकाकुल छौं। तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझ बढि महशुस गरेका छौं।
आफन्तजन, राजनीतिज्ञहरु, पार्टीका साथीहरु, महामहिमहरु, विभिन्न पेशा र वर्गका शुभचिन्तकहरु, यो शोकका क्षणमा यहाँहरुले मनैदेखि दिएको समवेदना र सहानुभूतिले हामीमा धैर्य र हिम्मत थपेको छ। आजको उपस्थितीका लागी म परिवार र पार्टीका तर्फबाट हृदयदेखि नै तपाईँहरुप्रति कृतज्ञता व्यक्त गर्दछु।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेकपा(माओवादी केन्द्र)
७ मंसिर, २०७४

प्रतिक्रिया