Bisal Chautari Logo

सत्तारुढ नेकपाका विद्यार्थीले गरे हावाहुरीका मृतक परिवारलाई १० लाख दिन माग

- १८ चैत्र २०७५, सोमबार ०९:३७ मा प्रकाशित


RAINSTROM IN BARA PARSHA NEPAL

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १८, सोमवार ।
सत्तारुढ नेकपाका विद्यार्थीहरुले हावाहुरी प्रभावित बारा-पर्साका जिल्लामा मृत्यु भएका परिवारलाई १० लाख दिन सरकार सँग माग गरेको छ । साथै घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मागसमेत गरिएको छ ।

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय समेत गरेको छ ।

‘यस विस्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरु सहितको स्वास्थ्य टोली लाने निर्णय गरियो । साथै दुवै अध्यक्षको नेतृत्वमा दुई नं.प्रदेश र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रदेश २ सरकारले भने मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रतिक्रिया