Bisal Chautari Logo

रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु

- २७ चैत्र २०७५, बुधबार ०५:२९ मा प्रकाशित


RATO MACHINDRANATH JATRA

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २७, बुधवार ।
सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ ।

रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ । मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक–फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।

काठ काट्ने जिम्मेवारी पाएका बोसी समुदायले काटेर ल्याइसकेको उहाँले बताउनुभयो । बाराही आवश्यक सामग्री निर्माणमा जुटिसकेका छन् । ञँवालले केही दिनपछि नै पाङ्ग्रा, धमालगायतका भाग कस्ने, बाँध्ने काम गर्ने उहाँले बताउनुभयो ।

यो वर्ष रथ निर्माणका लागि थोरै मात्रै काठ ल्याइएको कार्यालयले जनाएको छ । गत वर्ष एक वर्षलाई आवश्यकभन्दा धेरै काठ ल्याइएको थियो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रा रहेको छ । मच्छिन्द्रनाथलाई छ महीना बुङ्गमती र छ महीना पाटनमा राखिन्छ । वर्षेनी पाटनमा हुँदा विभिन्न जात्रा र पर्वहरु हुने गर्छ भने १२ वर्षमा एक पटक बुङ्गमतीमा समेत भव्यरूपमा जात्रा मनाइन्छ । जात्रा मनाउनका लागि वर्षभरि नै विभिन्न कामहरु भइरहने कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया