Bisal Chautari Logo

पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

- १० बैशाख २०७५, सोमबार ०९:४४ मा प्रकाशित


Bagmati Yatra begins after a gap of 40 years

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १०, सोमबार । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षपछि आजदेखि पुनः शुरु भएको छ ।

Bagmati Yatra begins after a gap of 40 years

कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन । आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राको संकल्प गरेपछि यात्रा शुरु भएको हो ।

पशुपतिनाथ दर्शन र परिक्रमापछि पश्चिम मूलढोकाबाट शुरु भएको यात्रा आज कार्यविनायक, दक्षिणकाली गोपालेश्वर दर्शन एवं पूजापछि कटुवाल दहमा ब्राह्मण वरण, ध्वजा, कलश स्थापना, १६ तीर्थस्नान आरम्भ गरिनेछ । आज पहिलो दिनको वास शिखरनारायणमा हुने पशुपति आगमघरका भट्ट एवं यात्राका पुरोहित मदन भट्टले राससलाई जानकारी दिनुभयो ।

वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म हुने १७ दिने वाग्मती तीर्थयात्रा यस वर्ष सात दिनमात्र गरिने छ । यात्राको दिन घटाइए पनि विधि भने पु¥याइने उहाँले बताउनुभयो । कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गर्ने विधिलाई वाग्मती तीर्थ यात्रा भनिन्छ । तीर्थ यात्रा वैदिक र तान्त्रिक मिश्रित विधिमा गरिन्छ ।

वाग्मती प्रदूषित बन्दै गएपछि वाग्मती तीर्थयात्रा रोकिएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, गायत्री परिवारलगायत सामाजिक संस्थाको सक्रियतामा विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । यात्रासँगै वाग्मती सफाइका लागि पनि जनमत जुटाउने उद्देश्य राखिएको छ ।

कटुवालदहबाट शुरु भएको यात्रा सुन्दरीघाट–टेकु कालमोचनघाट– शंखमूल–पशुपति राजराजेश्वरी–गोकर्ण–सुन्दरीजल–वाग्द्वार–बूढानीलकण्ठ–साँखु बज्रयोगिनी–चाँगुनारायण–मनोहरा–गुह्येश्वरी–पशुपति विरुपाक्ष–रुद्रगाडेश्वरसम्मको यात्रा गरी वैशाख १७ गते समापन हुनेछ ।

यात्राका क्रममा प्रत्येक घाटमा स्नान गरिन्छ । साँखु बज्रयोगिनीमा हवन हुन्छ । चाँगुनारायणमा दर्शन गरी मनोहरा नदीमा स्नान गरिन्छ । गुह्येश्वरी दर्शन गरेर विरुपाक्षलाई दही च्यूरा खुवाइन्छ । रुद्रगाडेश्वरमा पूर्णाहुति गरेपछि वाग्मती यात्राले पूर्णता पाउने यात्राका मूल गुरु भट्टले बताउनुभयो ।

यात्रा शुभारम्भ गर्नुहुँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले उपत्यकाको जीवन्त संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यात्रामा सहभागी समूहलाई राष्ट्रिय र धार्मिक झण्डासहित पशुपति परिसरबाट उहाँले बिदाइ गर्नुभएको थियो । यात्राका सहभागीलाई आज दक्षिणकाली नगरपालिकाले स्वागत गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया