Bisal Chautari Logo

आठराईमा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी

- १४ बैशाख २०७५, शुक्रबार १०:०३ मा प्रकाशित


Drinking water from dip boring in two places uniformity in eighth

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १३,शुक्रबार।  खानेपानीको चरम समस्या रहेको तेह्रथुमको आठराई गाउँपालिकामा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी निकालिएको छ ।

खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै रहेको बगाले शहीद स्मृति पार्कस्थित डुङ्कुरी डाँडा र झुमेडाँडामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न निकालिएको हो । बगाले पार्कको डुङ्कुरी डाँडामा गाउँपालिकाको रु ४० लाख लागतमा बुकी पोखरी खानेपानी तथा सिँचाइ आयोजनामार्फत सतहको पानी बाहिर निकाल्ने काम भएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

गाउँपालिकाको गाउँ परिषद्बाटै आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा खानेपानीका लागि रु ४० लाख बजेट विनियोजन गरिएको थियो । खानेपानीको अभाव रहँदै आएको यस क्षेत्रमा बोरिङबाट पानी निकालेर समस्याको समाधान गर्न थालिएको हो ।

खानेपानीको ट्याङ्की र पाइप लाइन विस्तारका लागि अघिल्लो गाउँसभाको निर्णयलाई संशोधन गरेर थप बजेट विनियोजन गरिने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो ।

बोरिङको काम सम्पन्न भएपछि पहिलो चरणमा गाउँपालिकाको केन्द्र संक्रान्तिबजार र बुकी गाउँमा खानेपानी पु¥याउने तयारी भएको छ । निगाले रमिते सामुदायिक वन ह्वाकू र बगाले शहीद स्मृति पार्कको क्षेत्रमा बोरिङ गर्न शुरु भएको करीब १२ घण्टामा १०० मिटर गहिराइमा पानी भेटिएको प्राविधिकहरुले बताएका छन् ।

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट पानी निकालिएको छ । झुमेडाँडामा १२८ मिटरको गहिराइमा पिउन योग्य पानी भेटिएको छ । आठराई थोक्लुङ, चुहानडाँडालगायतका गाउँमा खानेपानीको समस्यालाई हल गर्न झापाको दमकस्थित अर्पिट रियल स्टेट कम्पनीको लगानीमा बोरिङ गरी जमिनमुनिको पानी लिकाल्ने काम भएको हो ।

खानेपानीको चरम समस्यालाई हल गर्नका लागि बोरिङबाट पानी निकाल्न आठराई गाउँपालिका वडा नं १ संक्रान्तिबजारको वडा कार्यालयले अर्पिटरियल स्टेट कम्पनीलाई अनुमति दिएको थियो ।

सतहको पानी बोरिङ गरी बाहिर निकाल्न मात्र रु ३८ लाख लगानी भएको अर्पिट रियल स्टेट कम्पनीका प्रबन्धक भैरव सिटौलाले बताउनुभयो । ट्याङकी निर्माण र पाइप विस्तारको काम शुरु गरी उपभोक्तालाई पानी वितरण गरिने बताइएको छ । काठमाडाँैमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्यायन गरी आठराईमा बोरिङको काम गरेको हो ।

खानेपानीको अभावलाई समाधान गरी कृषि क्षेत्रमा समेत बोरिङको पानी प्रयोग गरिने बुकी पोखरी खानेपानी तथा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष दुर्गा बहादुर खत्रीले बताउनुभयो । “खानेपानीका लागि मुहान खोज्यौँ, कतै भेटिएन”, समितिका अध्यक्ष खत्रीले भन्नुभयो । “नयाँ प्रविधिबाट निकालिएको पानी दैनिक उपभोग्य काम र कृषिको क्षेत्रमा प्रयोग गर्छांै ।

झुमेडाँडामा पानी निकाल्नका लागि स्थानीय झुमनाथ काफ्लेले रु ४० लाख मूल्यबराबरको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । संक्रान्तिबजारस्थित मालपोत चोकबाट पानी निकाल्ने स्थान झुमेडाँडासम्म केजी निर्माण सेवाले रु आठ लाख लागत बराबरको एक किलोमिटर मोटरबाटो निःशुल्क निर्माण गरेको प्रबन्धक सिटौलाले बताउनुभयो ।

सुख्खा याम शुरु भएपछि आठराईको संक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गालगायतको गाउँमा खानेपानीको चरम अभाव हुँदै आएको छ । यसअघि तेह्रथुमको छथर गाउँपालिकाले पनि डिप बोरिङ प्रणालीबाट खानेपानी निकालेको छ । तेह्रथुममा खानेपानीका लागि तीनवटा डिप बोरिङ प्रविधिका आयोजना एकैसाथ शुरु भएका छन् ।

प्रतिक्रिया