Bisal Chautari Logo

पल र पूजालाई सम्मान दिदै थारु भाषामा ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत सार्वजनिक

- ४ फाल्गुन २०७८, बुधबार १८:४६ मा प्रकाशित


विशाल चौतारी समाचार

काठमाडौं, २०७८ फगुन ४, बुधवार । कोरोना कहरपछि सबैभन्दा बढि आसा बोकेर यहि फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको बहु प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचार–प्रसारलाई आक्रामक बनाउन थालेको छ । केही दिनदेखि हलको माहोल बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेको चलचित्रको टिमले बुधवार राजधानीमा एक कार्यक्रमका बीच थारु भाषा र नेवारी भाषाको प्रमोशनल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले नेवारी भाषाको गीत भने युट्युवमा भने भोलि ५ गतेको दिन रिलिज गर्दैछ ।


सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत छ । चितवनमा खिचिएको गीतको भिडियोमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा चलचित्रका प्रमुख अभिनेता तथा रियल हिरो पल शाह र चर्चित अभिनेत्री पूजा शर्मा थारु पहिरनमा देखिएका छन् ।
निर्देशक सुदर्शन थापाले अन्य भाषामा पनि प्रमोशनल गीत बनाउने योजना भएपनि समय अभावका कारण थारु र नेवारी भाषामा मात्र तयार पारेको जानकारी दिए । पल र पूजाले भने फिल्ममा पहिलो पटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । यी दुई गीतले थारु र नेवारी समुदायलाई सिनेमा हलसम्म आकर्षित गर्नेमा निर्माण टिम विश्वस्त देखिएको छ ।
बुधबार आयोजित कार्यक्रममा पूजाले भनिन्, ‘हिरो होस् त पल शाह जस्तो । पूजाले पलको तारिफ गर्दा गर्दै भक्कानिइन् । पूजाले दुई वर्षदेखि चलचित्रको काम रोकिएको भन्दै आजका दिन दर्शकमाझ ल्याउने क्रममा कलाकार र मिडियाको साथ पाएको बताइन् । पूजाले भनिन्, ‘म यस्तो गीत गाउँछु बनाउने क्रममा जब हामीले पलको नाम सोच्यौं, सबै सकारात्मक हुनुहुन्थ्यो । चलचित्र पनि निक्कै राम्रो चल्यो । म यस्तो गीत गाउँछु २ बनाउने क्रममा सुदर्शनजीले पलको विकल्प नै सोच्नुभएन । उहाँ खाली मेरो भाइ पल भन्नुहुन्छ ।’
फागुन १३ गतेबाट रिलिज हुन लागेको सुदर्शन थापा निर्देशित चलचित्र सांगीतिक प्रेम कथामा आधारित छ । चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया